नियम ३२
बाली निरीक्षकको काम, कर्तव्य र अधिकार
बाली निरीक्षकको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–
(क) बीउ बालीको खेत तथा बीउ संकलन प्रक्रियाहरूको निरीक्षण गरी प्रतिवेदन तयार गर्ने,
(ख) बीउ बिजन व्यवसायीको अनुमतिपत्र तथा बीउ बजारको अनुगमन गर्ने,
(ग) खण्ड (ख) बमोजिम अनुगमन गर्दा अनुमतिपत्र नलिई बीउ बिजन व्यवसाय सञ्चालन गरेको पाइएमा वा सूचित नभएको बीउ बिजन बिक्री वितरण गरेको पाइएमा त्यसको जानकारी सम्बन्धित कार्यालय तथा नमूना सङ्कलकलाई दिनु पर्नेछ ।
(घ) खण्ड (ग) बमोजिम कार्यालयको अधिकृत प्रतिनिधि वा नमूना सङ्कलकको रोहवरमा कम्तीमा दुईजना सर्वसाधारणको उपस्थितिमा अनुसूची–१७ बमोजिमको ढाँचामा मुचुल्का उठाई ऐन तथा यस नियमावलीको अधिनमा रही त्यस्ता बीउ बिजन जफत गर्नु पर्नेछ ।
(ङ) खण्ड (घ) बमोजिम बीउ बिजन जफत गर्दा सर्वसाधारणको उपस्थिति हुन नसक्ने परिस्थिति भएमा वा उपस्थित हुन नमानेमा सो व्यहोरा उल्लेख गरी बीउ बिजन जफत गर्नु पर्नेछ ।
(च) खण्ड (घ) बमोजिम बीउ बिजन जफत गर्दा अनुसूची–१८ बमोजिमको ढाँचामा सम्बन्धित बीउ बिजन बिक्रेतालाई सूचना दिई सो को जानकारी स्थानीय प्शासन, कार्यालय, क्षेत्रीय कृषि निर्देशनालय, बीउ बिजन नमूना सङ्कलक, क्षेत्रीय बीउ बिजन परीक्षण प्रयोगशाला तथा समितिको सदस्य सचिवलाई दिनु पर्नेछ ।
(छ) खण्ड (च) बमोजिम सूचना दिई जफत गरेको बीउ बिजन नमूना सङ्कलकको रोहवरमा सम्बन्धित कार्यालयमा अनुसूची–१९ बमोजिमको ढाँचामा बुझाई सो को जानकारी बीउ बिजन बिक्रेता, स्थानीय प्रशासन, क्षेत्रीय कृषि निर्देशनालय, जिल्ला कृषि विकास कार्यालय, नमूना सङ्कलक, क्षेत्रीय बीउ बिजन प्रयोगशाला तथा समितिको सदस्य–सचिवलाई दिनु पर्नेछ ।
(ज) खण्ड (घ) बमोजिम जफत गरिएको बीउ बिजन कार्यालयले तोकिए बमोजिमको प्रक्रिया अपनाई नष्ट गर्नु पर्नेछ ।